दफा २७
लिखत प्रमाणीकरण सम्बन्धी कार्यविधि
(१) कुनै लिखत प्रमाणीकरण गराउन चाहने व्यक्तिले लिखत प्रमाणीकरण गराउनको लागि तोकिए बमोजिम नोटरी पब्लिक समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन दिंदा निवेदकले आफूलाई चिने जानेका दुईजना साक्षी नोटरी पब्लिक समक्ष उपस्थित गराउनु पर्नेछ । त्यसरी साक्षी उपस्थित गरांउदा साक्षीको परिचय खुल्ने कागजात समेत पेश गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा नोटरी पब्लिकले लिखतमा हस्ताक्षर गर्ने व्यक्ति वास्तविक भए नभएको यकिन गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम व्यक्ति यकिन गर्ने सम्बन्धमा नोटरी पब्लिकले निवेदकसँग थप कागजात माग गर्न, निवेदक र निजले उपस्थित गराएको साक्षीसँग आवश्यक सोधपुछ गर्न वा सो विषयमा निजको कागज गराउन सक्नेछ ।
(५) नोटरी पब्लिकले अड्डा अदालतमा पेश गर्ने लिखतको प्रमाणीकरण गर्ने भएमा निवेदकलाई तोकिए बमोजिम शपथ गराउन सक्नेछ ।
(६) नोटरी पब्लिकले निवेदकलाई व्यक्तिगत रुपमा चिने जानेको भएमा वा उपदफा (४) बमोजिम माग भएको कागजात वा निवेदकले उपस्थित गराएको साक्षीसँगको सोधपुछको आधारमा निवेदक वास्तविक व्यक्ति हो भन्ने यकिन भएमा नोटरी पब्लिकले निवेदकद्धारा पेश भएको लिखतमा निजको हस्ताक्षर र ल्याप्चे सहिछाप गर्न लगाई वा हस्ताक्षर गर्न नसक्ने निवेदकको हकमा ल्याप्चे छाप गर्न लगाई तोकिए बमोजिम लिखत प्रमाणीकरण गर्नसक्नेछ ।
(७) लिखत प्रमाणीकरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।